जनकपुरधाम, २७ साउन । धनुषा प्रहरीले भन्सार चोरीपैठारी नियन्त्रण अभियानलाई तीव्रता दिँदै पछिल्लो २६ दिनमा ८१ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

प्रहरीले साउन १ गतेदेखि २६ गतेसम्म जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको अभियानका क्रममा ८१ लाख ७ हजार ७८६ बराबरको अवैध सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार अवैध सामान ओसारपसार तथा चोरीपैठारीमा संलग्न पाँच जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले सोही अवधिमा लागुऔषध नियन्त्रणतर्फ पनि कारबाहीलाई तीव्रता दिएको जनाएको छ ।

लागुऔषधसहित २४ जना पक्राउ परेका छन् भने उनीहरुविरुद्ध १९ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।

प्रहरीका अनुसार उक्त अवधिमा ३४ किलो गाँजा, १८५.८२ ग्राम खैरो हेरोइन, २४३ थान नाइट्रोजेपाम, पाँच थान स्पास्मोरेटल, १४ थान एन्टिकफ ट्याब्लेट र नौ थान कोलिबेन बरामद गरिएको छ ।

त्यस्तै, हातहतियारसम्बन्धी कसुरमा पनि प्रहरीले तीन जनालाई पक्राउ गरी एउटा मुद्दा दर्ता गरेको छ ।

उनीहरूको साथबाट एक थान पेस्तोल, एक थान पेस्तोलको म्यागजिन, ७.६५ केएफ लेखिएको एक थान गोली र नौ एमएम केएफ लेखिएको एक राउन्ड गोलीसहित पाँच थान हातहतियार तथा गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीले फैसला कार्यान्वयन अभियानलाई समेत प्रभावकारी बनाएको जनाएको छ ।

साउन १ देखि २६ गतेसम्म विभिन्न अदालतबाट जारी भएका ४१० वटा पक्राउ पुर्जी कार्यान्वयन गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

यस क्रममा अदालतबाट दोषी ठहर भएका व्यक्तिहरूमाथि कारबाही गर्दै १५८ वर्ष ८ महिना ७ दिन कैद सजाय कार्यान्वयन गरिएको छ । साथै फैसला कार्यान्वयनकै क्रममा रु ६३ लाख ७७ हजार २६१ जरिवाना समेत असुल गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भन्सार चोरीपैठारी, लागुऔषध, अवैध हातहतियार तथा अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै जिल्लाभर सुरक्षा निगरानी र खोजतलास अभियानलाई निरन्तरता दिइएको छ ।