६ फरार प्रतिवादी धनुषा प्रहरीको नियन्त्रणमा
जनकपुरधाम, २७ साउन । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अदालतबाट सजाय फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका ३ जना, लागुऔषध मुद्दाका १ जना तथा चोरी र डाका मुद्दाका १/१ जना रहेका छन् ।
धनुषा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार पक्राउ परेकामध्ये डाका मुद्दामा सजाय तोकिएका एक प्रतिवादीलाई अदालतले करिब साढे चार वर्ष कैद सजाय फैसला गरेको थियो ।
प्रहरीले अदालतबाट फैसला भई फरार रहेका अन्य प्रतिवादीहरूको समेत खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।
पक्राउ परेका सबै ६ जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत धनुषामा बुझाइएको डीएसपी न्यौपानेले जानकारी दिए ।


