जनकपुरधाम, २७ साउन । धनुषा जिल्ला अदालत अगाडि एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका–४ की फुलकुमारी रजकले बुधबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् ।

मिटरब्याजसम्बन्धी मुद्दामा पीडितहरूले अदालत परिसर अगाडि नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेका बेला रजकले अचानक पेट्रोल शरीरमा खन्याएकी थिइन् । प्रहरीले तत्काल हस्तक्षेप गरी उनलाई रोकेपछि सम्भावित दुर्घटना टरेको छ ।

रजकले आफूहरूलाई न्याय नदिइएको भन्दै अदालतको फैसलाप्रति आक्रोश व्यक्त गरेकी छन् । उनले न्यायाधीशले पैसा लिएर साहुलाई छाडेको आरोपसमेत लगाएकी छन् । यद्यपि, उक्त आरोपको स्वतन्त्र पुष्टि भने भएको छैन ।

यसैबीच, मिटरब्याजसम्बन्धी कसुरमा पक्राउ परेका गोपाल साह, रेखा साह र हरेराम साहविरुद्ध धनुषा जिल्ला अदालतमा बुधबार थुनछेक बहस भइरहेको छ । सोही बहसका क्रममा पीडितहरूले अदालत बाहिर प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा आत्मदाहको प्रयास भएपछि अदालत परिसरमा केही समय तनावको अवस्था सिर्जना भएको थियो । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा राख्दै अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

मिटरब्याजको समस्या समाधान तथा आफूहरूले न्याय पाउनुपर्ने माग गर्दै पीडितहरूले लामो समयदेखि विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् ।

उनीहरूले ऋणको नाममा साहुबाट भएको कथित शोषण र अन्याय अन्त्य गरी दोषीमाथि कारबाही तथा पीडितलाई न्याय दिन माग गर्दै आएका छन् ।