जनकपुरधाम, २६ साउन । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र विमलको राजकीय सम्मानका साथ मंगलबार जनकपुरधाममा अन्त्येष्टि गरिएको छ। जनकपुरधामस्थित स्वर्गद्वारी श्मशानघाटमा उनको अन्त्येष्टि गरिएको हो ।

अन्त्येष्टिका क्रममा नेपाल प्रहरीले डा. विमलको सम्मानमा सलामी अर्पण गरेको थियो । उनका ज्येष्ठ पुत्र आभास लाभले दागबत्ती दिएका थिए ।

बिमलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि जनकपुरधामका विभिन्न स्थानमा परिक्रमा गराउँदै शवयात्रा निकालिएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोकस्थित निवासबाट सुरु भएको शवयात्रा नगरका विभिन्न भाग हुँदै जनकचोक पुगेको थियो ।

त्यहाँ केहीबेर पार्थिव शरीर राखेर सर्वसाधारण, साहित्यकार, शुभेच्छुक तथा स्थानीयवासीले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

अन्त्येष्टिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गणेश) लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको सहभागिता थियो। मन्त्री पौडेलले विमलको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए ।

त्यस्तै, विमलका भाइसमेत रहेका मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ, मधेश प्रदेशका सभामुख रामआशिष यादव, शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री श्यामप्रसाद पटेल, श्रम तथा यातायात मन्त्री शारदादेवी थापालगायत प्रदेश सरकारका मन्त्री तथा उच्च पदस्थ अधिकारी अन्त्येष्टिमा सहभागी भएका थिए ।

प्रतिनिधिसभा सदस्य मनिष झासहित साहित्य, शिक्षा, कला तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको पनि उल्लेख्य उपस्थिति थियो ।

डा. विमलको सोमबार राति ७९ वर्षको उमेरमा निधन भएको थियो। परिवारका अनुसार राति अचानक स्वास्थ्यमा समस्या आएपछि उनको निधन भएको हो ।

बहुभाषिक साहित्य र भाषाविज्ञानका विशिष्ट साधक
डा. बिमल नेपाली, मैथिली र अंग्रेजी भाषामा साहित्यका विभिन्न विधामा सक्रिय थिए ।

भाषा विज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर गरेका थिए ।

वि.सं. २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापनमा आबद्ध भएका विमलले शिक्षणसँगै साहित्य सिर्जना र अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

साहित्य तथा भाषाको क्षेत्रमा लामो समय योगदान दिएका विमललाई जगदम्बाश्री पुरस्कार, मधुपर्क लगायत विभिन्न प्रतिष्ठित सम्मान तथा पुरस्कारबाट सम्मानित गरिएको थियो ।

उनको निधनसँगै नेपाली र मैथिली साहित्यले एक अनुभवी स्रष्टा, अध्येता तथा भाषाविद् गुमाएको साहित्यकारहरूले बताएका छन् ।

जनकपुरधामको साहित्यिक तथा बौद्धिक क्षेत्रमा विमलको योगदानलाई दीर्घकालसम्म स्मरण गरिने उनीहरूको भनाइ छ ।