जनकपुरधाम, २६ साउन । वरिष्ठ साहित्यकार, भाषाविद् तथा शिक्षाविद् प्राध्यापक डा. राजेन्द्र प्रसाद विमलको निधनप्रति शोक व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिकाले बुधबार एक दिन नगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै २०८३ साउन २७ गते बुधबार नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा शोक मनाउँदै पठनपाठन बन्द गर्न अनुरोध गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहद्वारा जारी सूचनामा डा. विमलले शिक्षा, संस्कृति, पूर्वीय दर्शन तथा मैथिली र नेपाली साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गरिएको छ ।

सूचनामा डा. विमलको निधनले समग्र जनकपुरधामवासी मर्माहत भएको तथा उनको महाप्रस्थानले जनकपुरधामको साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख छ ।

उनलाई साहित्य क्षेत्रको अभिभावकका रूपमा स्मरण गर्दै उपमहानगरपालिकाले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

डा. विमलको मंगलबार बिहान ७९ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनले मैथिली तथा नेपाली साहित्यको क्षेत्रमा गहिरो शोक छाएको छ ।

उपमहानगरपालिकाले शोकको यस घडीमा डा. विमलको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ ।

डा. विमलप्रति सम्मान व्यक्त गर्दै बुधबार जनकपुरधामका शैक्षिक संस्थामा नियमित पठनपाठन सञ्चालन नहुने भएको छ ।