उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६ बाट मो. नइम राईन सम्मानित

जनकपुरधाम, २६ साउन । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले प्रदेश युवा सञ्जाल मधेश प्रदेशका अध्यक्ष मो. नइम राईनलाई ‘उत्कृष्ट युवा नेतृत्व सम्मान–२०२६’ प्रदान गरेको छ ।
जनकपुरधाममा आयोजित प्रदेशस्तरीय समारोहमा खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास र मन्त्रालयका प्रदेश सचिव सुशीलकुमार साह तेलीले राईनलाई सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेका हुन् ।
युवा नेतृत्व विकास, युवा सशक्तीकरण, सामाजिक रूपान्तरण तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा मधेश प्रदेशका युवाको प्रतिनिधित्व गर्दै पुर्याएको योगदानको कदरस्वरूप राईनलाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।
सम्मान ग्रहण गर्दै राईनले प्राप्त सम्मानलाई आफ्नो व्यक्तिगत उपलब्धिका रूपमा मात्र नहेरी मधेश प्रदेशका सम्पूर्ण युवा, युवा अभियन्ता र सामाजिक परिवर्तनका लागि निरन्तर सक्रिय युवाहरूको सम्मानका रूपमा लिएको बताए ।
उनले युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, नेतृत्व विकासका अवसर विस्तार गर्ने तथा युवामैत्री नीति र बजेट निर्माणका लागि आगामी दिनमा थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राईन प्रदेश युवा सञ्जाल मधेश प्रदेशका अध्यक्षका रूपमा कार्यरत छन् । उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा मञ्चमार्फत युवाका अधिकार, सहभागिता, नेतृत्व विकास तथा युवा सशक्तीकरणका विषयमा सक्रिय रहँदै आएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश सरकारका विभिन्न निकायका प्रतिनिधि, विकास साझेदार संस्था, गैरसरकारी संस्था, युवा संगठन तथा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका युवाहरूको सहभागिता रहेको थियो ।
समारोहमा युवाको नेतृत्व विकास, सामाजिक सहभागिता र प्रदेशको समग्र विकासमा युवाको भूमिकाबारे समेत चर्चा गरिएको थियो ।

