जनकपुरधाम, २५ साउन । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा रु. ३ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

उपमहानगरपालिकाले बक्यौता असुलीलाई प्राथमिकता दिँदै कर सङ्कलनमा कडाइ गरेपछि राजस्व वृद्धि भएको हो ।

उपमहानगरपालिकाले गत आर्थिक वर्षमा १७ करोड १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, लक्ष्यभन्दा रु. ३ करोड २२ लाख बढी अर्थात् कुल रु. २० करोड ३७ लाख १ हजार ५५९ राजस्व सङ्कलन भएको राजस्व शाखाले जनाएको छ ।

यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा पनि रु. ३ करोड ७२ लाख २१ हजार ६२६ ले बढी हो ।

आव २०८१/८२ मा रु. १६ करोड २० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा रु. १६ करोड ६४ लाख ७८ हजार ९३३ सङ्कलन भएको थियो ।

उपमहानगरपालिकाका अनुसार आव २०८२/८३ मा बेरुजु शीर्षकमा रु. ५ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु. २१ लाख २६ हजार ४५३ असुली भएको छ ।

त्यस्तै, सम्पत्ति करबाट रु. ५ करोड ६१ लाख ५ हजार ३३१ र बहाल करबाट रु. ५ करोड ७५ लाख ३९ हजार ६४४ सङ्कलन भएको छ ।

यसैगरी, नक्सापास दस्तुरबाट रु. ३ करोड ३७ लाख ८१ हजार, सिफारिस दस्तुरबाट रु. १ करोड ३४ लाख ९५ हजार ८९६ तथा बहाल बिटौरी करबाट रु. ९२ लाख ३२ हजार २०० राजस्व प्राप्त भएको छ ।

व्यवसाय करबाट रु. ५१ लाख ५० हजार ३४७, अन्य प्रशासनिक सेवा शुल्कबाट रु. ६८ लाख ३४ हजार ९३४ तथा अन्य सेवा शुल्क तथा बिक्रीबाट रु. २९ लाख ६८ हजार ४७५ सङ्कलन भएको उपमहानगरपालिकाले जनाएको छ ।

त्यस्तै, परीक्षा शुल्कबाट रु. १७ लाख ८६ हजार ७००, व्यक्तिगत घटना दर्ता दस्तुरबाट रु. ५ लाख ९७ हजार ७२०, प्रशासनिक दण्ड तथा जरिवानाबाट रु. ११ लाख ५ हजार ५६३ र सरकारी सम्पत्ति बिक्रीबाट रु. १५ लाख राजस्व प्राप्त भएको छ ।

उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख परमेश्वर झाका अनुसार बक्यौता असुलीलाई प्रभावकारी बनाउनुका साथै करदातालाई नियमित कर तिर्न प्रोत्साहित गरिएकाले राजस्व सङ्कलनमा उल्लेख्य सुधार आएको हो ।

उनले आगामी दिनमा पनि बक्यौता कर असुलीलाई प्राथमिकतामा राख्दै राजस्वको दायरा विस्तार गर्ने र कर प्रशासनलाई थप व्यवस्थित बनाउने तयारी रहेको बताए ।