जनकपुरधाम, २५ साउन । मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसुरमा रेड नोटिस जारी भएका धनुषाका एक व्यक्ति कतारबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका–५ का मो. ताहिर राईन रहेका छन् ।

उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि नेपाल प्रहरीले इन्टरपोलमार्फत रेड नोटिस जारी गराएको थियो ।

नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२६ जुलाई २८ मा राईनविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

रेड नोटिस जारी भएपछि इन्टरपोल शाखा, एनसीबी काठमाडौं र एनसीबी दोहा, कतारबीचको समन्वयमा कतारमा रहेका राईनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईनलाई कतार एयरवेजको उडानमार्फत सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको थियो ।

विमानस्थलमा इन्टरपोल शाखा (एनसीबी काठमाडौं) बाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका राईनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको छ ।

अन्तर्राष्ट्रियस्तरमा फरार रहेका अभियुक्त तथा विभिन्न आपराधिक कसुरमा संलग्न व्यक्तिलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलको समन्वयमा विभिन्न देशका सम्बन्धित निकायसँग सहकार्य गर्दै आएको छ ।