जनकपुरधाम, २४ साउन । धनुषा जिल्लाभित्र पर्ने नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा अवस्था तथा सीमा व्यवस्थापनबारे जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ ।

जिल्लाका विभिन्न सीमा नाका तथा सीमावर्ती क्षेत्रमा पुगेर सुरक्षा अवस्था, आवतजावत, सीमा स्तम्भको अवस्था र स्थानीयस्तरमा देखिएका समस्याबारे जानकारी लिइएको हो ।

अनुगमनका क्रममा सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीको अवस्था, नियमित गस्ती, सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा नेपाल–भारत सीमाबाट हुने आवतजावतलाई व्यवस्थित बनाउने विषयमा समेत छलफल गरिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सीमा क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा निकायबीच थप प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

उनले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि, चोरी तस्करी तथा गैरकानुनी आवतजावत नियन्त्रण गर्न सुरक्षा निगरानीलाई निरन्तरता दिइने बताउँदै सीमावर्ती नागरिकलाई समेत सुरक्षा निकायसँग सहकार्य गर्न आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार सीमा सुरक्षा सुरक्षाकर्मीको जिम्मेवारी मात्र नभई सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको सहयोग र समन्वयबाट अझ प्रभावकारी बनाउन सकिन्छ ।

उनले सीमा क्षेत्रमा देखिएका समस्या पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गरेर समाधानको पहल गरिने पनि बताए ।

जिल्ला सुरक्षा समितिको अनुगमनले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिनुका साथै सीमा सुरक्षा र व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

साथै, आगामी दिनमा पनि सीमा क्षेत्रमा नियमित अनुगमन तथा सुरक्षा निगरानीलाई निरन्तरता दिने प्रशासनले जनाएको छ ।