महोत्तरीमा ग्यास लुकाएर बिक्री गर्ने डिलरमाथि कडा निगरानी

महोत्तरी, २४ साउन । महोत्तरीमा ग्यासको कृत्रिम अभाव सिर्जना गरी लुकाएर बिक्री गर्ने तथा पहुँचका आधारमा वितरण गर्ने व्यवसायीमाथि प्रशासनले कडा निगरानी र कारबाही गर्ने चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले आइतबार सूचना जारी गर्दै जिल्लाभित्र विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने डिपो, पसल तथा व्यवसायीले कानूनविपरीतका गतिविधि गरिरहेको गुनासो प्राप्त भएको जनाएको छ ।
प्रशासनका अनुसार उद्योग तथा डिलरबाट ग्यास ल्याएर लुकाइछिपाई आफू निकटका व्यक्ति, होटल, व्यवसायी तथा ग्राहकलाई मात्र बिक्री गर्ने, नियमित ग्राहकको माग बेवास्ता गर्ने, बिक्री बिल नदिने तथा बिल–बिजक नराख्ने जस्ता गतिविधिबारे गुनासो आएको छ ।
त्यसैगरी, ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्यले सिलिन्डर भण्डारण गरी लुकाएर राख्ने तथा दर्ता र अनुमति नभएका विक्रेतालाई समेत डिस्ट्रीब्युटरले ग्यास उपलब्ध गराउने गरेको गुनासो प्रशासनमा पुगेको जनाएको छ ।
यस्ता गतिविधि नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयसहित अधिकारप्राप्त अन्य निकायले ग्यास डिपो, पसल, फर्म तथा कम्पनीको नियमित अनुगमन गरिरहेको प्रशासनले जनाएको छ ।
ग्यासको बिक्री वितरणमा हुने अनियमितता नियन्त्रण गर्न प्रशासनले सूक्ष्म निगरानीसमेत बढाएको छ । त्यसका लागि सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरी बजारको अवस्था र ग्यास वितरण प्रणालीबारे जानकारी संकलन तथा प्रतिवेदन तयार गर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनले ग्यास बिक्री गर्दा पहुँच र चिनजानका आधारमा प्राथमिकता दिने, सर्वसाधारण उपभोक्तालाई ग्यास नदिने, सिलिन्डर लुकाएर राख्ने वा कृत्रिम अभाव सिर्जना गर्ने कार्य कानूनविपरीत हुने स्पष्ट पारेको छ ।
यस्ता कार्यमा संलग्न डिपो, पसल तथा व्यवसायीमाथि प्रचलित कानूनअनुसार कडा कारबाही गरिने र लुकाएर राखिएका ग्यास सिलिन्डरसमेत जफत गरिने चेतावनी प्रशासनले दिएको छ ।
प्रशासनले ग्यास व्यवसायीलाई उद्योग तथा डिलरबाट प्राप्त सिलिन्डर पारदर्शी रूपमा बिक्री वितरण गर्न निर्देशन दिएको छ । बिक्री गर्दा अनिवार्य रूपमा बिल बिजक उपलब्ध गराउन तथा अभिलेख व्यवस्थित राख्नसमेत भनिएको छ ।
महोत्तरीमा पछिल्लो समय ग्यासको आपूर्ति र वितरणलाई लिएर उपभोक्ताबाट गुनासो बढिरहेका बेला प्रशासनले यस्तो चेतावनी दिएको हो ।
जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न ग्यासको बिक्री वितरणमा पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिएको छ । साथै, कानूनविपरीत कार्य गर्ने व्यवसायीमाथि निगरानी र कारबाहीलाई आगामी दिनमा थप प्रभावकारी बनाउने जनाएको छ ।


