सप्तरी, २४ साउन । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८ जोगिनियाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले कोशी बाँधको पलार क्षेत्रमा रहेको सरकारी खाली जग्गामा लगाइएको सनपाट खेतबाट ३ सय २ किलो ४ सय ८० ग्राम गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जोगिनियास्थित कोशी बाँधको पलारमा रहेको सनपाट खेतमा लुकाएर राखिएको गाँजाबारे सूचना पाएपछि प्रहरीले खानतलासी गरेको थियो । खानतलासीका क्रममा खेतबाट १२ बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त खेत भारतको बिहार निवासी नन्दकिशोर मुखियाले लगाएको सनपाट खेती रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बरामद गाँजा भने हनुमाननगर कंकालिनी नगरपालिका–७ मुखिया टोलकी ५३ वर्षीया माधुरी मुखियाको रहेको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता हेमराज धिमिरेका अनुसार बरामद गाँजाको तौल गर्दा कुल ३ सय २ किलो ४ सय ८० ग्राम रहेको छ ।

पक्राउ परेकी माधुरी मुखियालाई नियन्त्रणमा लिएर लागुऔषध गाँजाको कारोबार तथा ओसारपसारसँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि निगरानी बढाएको जनाएको छ । घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।