रौतहट, २४ साउन । ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन रौतहटमा ग्यास डिलर तथा विक्रेताका पसलमा छड्के अनुगमन गरिएको छ ।

गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाका विभिन्न बजार क्षेत्रमा रहेका ग्यास डिलर तथा विक्रेताका पसलमा आकस्मिक अनुगमन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा दुई वटा टोली परिचालन गरी जिल्लाका १७ वटा ग्यास डिलर तथा विक्रेताका पसल अनुगमन गरिएको प्रशासनले जनाएको छ । गौर, गरुडा र चन्द्रनिगाहपुरलगायत प्रमुख बजार क्षेत्रमा रहेका विभिन्न ब्रान्डका ग्यास डिलरमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा अधिकांश विक्रेताका स्टोरमा खाली सिलिन्डरको संख्या उल्लेख्य रहेको पाइएको छ । व्यवसायीहरूले उद्योगबाट मागअनुसार पर्याप्त ग्यास आपूर्ति हुन नसकेको र पछिल्लो समय आवश्यकता अनुसार ग्यास प्राप्त हुन नसकेको अनुगमन टोलीलाई बताएका छन् ।

ग्यास आपूर्ति भएपछि भने अधिकांश विक्रेताले प्रहरीको रोहबरमा पसल अगाडिबाटै उपभोक्तालाई वितरण गर्ने गरेको पाइएको प्रशासनले जनाएको छ ।
टोलीले ग्यासको आपूर्ति नियमित भए–नभएको, मागको तुलनामा कति परिमाणमा ग्यास आउने गरेको तथा वितरणमा उपभोक्ताले भोग्नुपरेका समस्याबारे व्यवसायीसँग जानकारीसमेत लिएको थियो ।

अनुगमन टोलीले ग्यास प्राप्त भएपछि उपभोक्तालाई पारदर्शी, सहज र व्यवस्थित रूपमा वितरण गर्न व्यवसायीलाई निर्देशन दिएको छ । ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न, अनावश्यक रूपमा उपभोक्तालाई दुःख नदिन तथा उपलब्ध ग्यास उचित प्रक्रियाबाट वितरण गर्नसमेत सचेत गराइएको छ ।

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी भुसालसँगै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाल, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकीसहित स्थानीय तह र सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए ।

प्रशासनले ग्यासको आपूर्ति, भण्डारण र वितरण प्रणालीमा निगरानी बढाउन नियमितसँगै आकस्मिक अनुगमनलाई समेत निरन्तरता दिने जनाएको छ ।

उपभोक्ताको गुनासो, ग्यासको उपलब्धता र वितरणको अवस्थालाई आधार बनाएर आगामी दिनमा जुनसुकै बेला छड्के अनुगमन गरिने प्रशासनको भनाइ छ ।