सिरहा, २४ साउन । सिरहाको गोलबजारबाट प्रहरीले प्रतिबन्धित औषधि र ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गोलबजार नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट शनिबार बेलुका उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोलबजार नगरपालिका–७ स्थित दुर्गा मन्दिर नजिकबाट १८ वर्षीय शिवप्रसाद राय कुर्मीलाई पक्राउ गरेको जनाएको छ ।

मिर्चैया नगरपालिका–८ निवासी कुर्मीमाथि शंका लागेर चेकजाँच गर्दा उनले बोकेको सेतो बोराभित्र लुकाएर राखिएको ‘ONEREX-100 ML’ लेखिएको १३ बोतल प्रतिबन्धित औषधि र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, गोलबजार नगरपालिका–८ स्थित पुरानो चोहर्वाबाट प्रहरीले २३ वर्षीय जयकुमार नायकलाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका–६ निवासी नायक पैदल हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद पदार्थ प्लास्टिकसहित ६ ग्राम १४ मिलिग्राम र प्लास्टिक हटाउँदा ४ ग्राम ५७ मिलिग्राम रहेको छ ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।