धनुषामा १ लाख १५ हजार रुपैयाँभन्दा बढीका भन्सार छलीका सामान बरामद

जनकपुरधाम, २३ साउन । जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छली गरी ल्याइएका करिब १ लाख १५ हजार २ सय रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ ।
प्रहरीका अनुसार शनिबार जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँच तथा निगरानीका क्रममा भन्सार छलीका सामान फेला पारी नियन्त्रणमा लिइएको हो ।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सीमावर्ती क्षेत्रबाट हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्न प्रहरीले निगरानी तथा चेकजाँचलाई निरन्तरता दिइरहेको जनाएको छ ।
प्रहरीले अवैध गतिविधि तथा शंकास्पद सामान ओसारपसारबारे जानकारी भए तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

