अदालतबाट सजाय पाएर फरार ३ जना पक्राउ

पर्सा, २३ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट सजाय पाएर फरार रहेका तीन जना प्रतिवादीलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जना जिल्ला अदालत पर्साबाट विभिन्न मुद्दामा सजाय तोकिएपछि फरार रहँदै आएका थिए ।
उनीहरूलाई प्रहरीले खोजी गर्ने क्रममा जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकामध्ये एक जना अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणी लगायतका मुद्दामा सजाय पाएका प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, अन्य प्रतिवादीहरू जालसाजी लगायतका मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय पाएपछि फरार रहेका थिए ।
अदालतले उनीहरूमध्ये सम्बन्धित मुद्दाका अभियुक्तलाई एक वर्षसम्म कैद सजाय तोकेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत पर्सामा दाखिला गरिसकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको नाम भने सार्वजनिक गरेको छैन ।

