धान रोपाइँ अन्तिम चरणमा पुग्दा धनुषा र महोत्तरीमा रासायनिक मल वितरण सुरु

जनकपुरधाम, २३ साउन । धान रोपाइँ अन्तिम चरणमा पुगेका बेला धनुषा र महोत्तरीमा रासायनिक मलको वितरण पुनः तीव्र पारिएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामले नियमित कोटाअन्तर्गत दोस्रो चरणको डिएपी र युरिया मल वितरण सुरु गरेको हो ।
मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको साउन ११ गतेको निर्णयअनुसार धनुषाका लागि ९७९ मेट्रिक टन डिएपी र ९२६ मेट्रिक टन युरिया तथा महोत्तरीका लागि ९३१ मेट्रिक टन डिएपी र ८८० मेट्रिक टन युरिया वितरण गर्न लागिएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका सूचना अधिकारी बेचन साहले जानकारी दिए ।
उनका अनुसार वीरगञ्जस्थित कम्पनीको प्रादेशिक कार्यालयबाट मल ढुवानी भएसँगै स्थानीय तहको सिफारिसका आधारमा जिल्लाका सहकारी तथा विक्रेतामार्फत मल वितरण भइरहेको छ ।
केही समयदेखि देखिएको रासायनिक मलको अभावसमेत पछिल्लो समय क्रमशः हट्दै गएको कम्पनीले जनाएको छ ।
साउनको दोस्रो सातामा थप डिएपी र युरिया प्राप्त भएपछि किसानलाई मल उपलब्ध गराउन सहज भएको सूचना अधिकारी साहले बताए ।
उनका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडको जनकपुरधामस्थित गोदाममा हाल करिब २ दशमलव ६ मेट्रिक टन युरिया मौज्दात रहेको छ ।
प्राप्त भएको मललाई आवश्यकता र स्थानीय तहको सिफारिसका आधारमा वितरण भइरहेको उनले बताए ।
यसैबीच, सुनसरी र सिराहामा भएका घटनापछि स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु तथा निषेधाज्ञाका कारण केही दिन मल ढुवानी प्रभावित भएको थियो ।
ढुवानी रोकिँदा जिल्लामा मल वितरणमा केही समस्या देखिए पनि पछिल्लो समय अवस्था सामान्य बन्दै गएपछि पुनः नियमित रूपमा मल भित्रिन थालेको कम्पनीले जनाएको छ ।
धान रोपाइँको अन्तिम चरणमा किसानलाई युरिया र डिएपीको आवश्यकता बढ्ने भएकाले समयमै पर्याप्त मल उपलब्ध गराउन सके उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ ।

