सिरहा, २३ साउन । सिरहामा प्रहरीले ९१ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न रहेको आशंकामा अन्य चार जना भने फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार राति नियमित गस्तीका क्रममा सखुवानान्कारकट्टी गाउँपालिका–४ स्थित सिमरा बलान खोलाबाट गाँजासहित भगवानपुर गाउँपालिका–४ जमुवाटोलका ४३ वर्षीय मोहन साहलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय सिरहा र महेशवारीको संयुक्त गस्ती टोलीले पाँच जनाको समूहलाई कपडाको नाम्लो बनाई टाउकोमा बोरा बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो ।

प्रहरीलाई देखेपछि उनीहरूले बोरा फालेर भाग्ने प्रयास गरेका थिए । सो क्रममा साहलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

प्रहरीले उनीहरूले फालेको बोराको खानतलासी गर्दा गाँजाजस्तो देखिने लागुऔषध पदार्थ फेला पारेको जनाएको छ । बरामद पदार्थको तौल ९१ किलो रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिरहामा राखिएको छ ।

घटनामा संलग्न रहेको आशंकामा भगवानपुर गाउँपालिका–४ जमुवाटोलका ४३ वर्षीय कलेन्द्र यादव र ब्रह्मदेव यादवसहित पहिचान खुल्न बाँकी अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले फरार रहेका व्यक्तिहरूको खोजी तीव्र पारिएको तथा बरामद गाँजाको स्रोत र ओसारपसारमा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।