निधिले भने– ‘पार्टीको शक्ति कार्यकर्ताको एकता र संगठनमा निर्भर हुन्छ’

जनकपुरधाम, २३ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउँदै बदलिँदो राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
धनुषा जिल्लाका कांग्रेस नेता तथा कार्यकर्तासँग शनिबार जनकपुरधामस्थित मारवाडी सेवा समितिको भवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता निधिले समसामयिक राजनीतिक विषयमा धारणा राख्दै पार्टीभित्रको एकता, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।
निधिले वर्तमान राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, संविधानको संरक्षण तथा जनताको अधिकारका पक्षमा पार्टी दृढतापूर्वक उभिनुपर्ने बताए ।

उनले कांग्रेसको शक्ति नेता कार्यकर्ताबीचको एकता र संगठनको सक्रियतामा निर्भर रहने भन्दै स्थानीय तहदेखि नै संगठनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
जनताका समस्या र अपेक्षालाई नजिकबाट बुझेर त्यसअनुसार राजनीतिक गतिविधि अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
अन्तरक्रियाका क्रममा धनुषामा पार्टी संगठनको अवस्था, पछिल्लो राजनीतिक घटनाक्रम, कार्यकर्ताका समस्या तथा आगामी राजनीतिक रणनीतिका विषयमा समेत छलफल भएको थियो ।
कार्यक्रममा धनुषा जिल्लाभरिका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले जिल्लामा पार्टी संगठनलाई थप प्रभावकारी बनाउने, कार्यकर्ताबीच समन्वय बढाउने तथा जनतासँगको सम्बन्धलाई मजबुत बनाउने विषयमा आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा उठेका विषय तथा सुझावलाई आगामी दिनमा पार्टीको राजनीतिक गतिविधि र संगठन सुदृढीकरणमा उपयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।

