महोत्तरी, २३ साउन । महोत्तरीको बर्दिवासमा रहेको विपद् गोदामघरको शनिबार संयुक्त रूपमा अनुगमन तथा निरीक्षण गरिएको छ ।

विपद्का बेला आवश्यक पर्ने राहत तथा उद्धार सामग्रीको उपलब्धता, भण्डारण अवस्था र व्यवस्थापनको अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको हो ।

गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, बर्दिवास नगरपालिका तथा सेभ द चिल्ड्रेनका प्रतिनिधिसहितको संयुक्त टोलीले गोदामघरको निरीक्षण गरेको छ ।

अनुगमनका क्रममा गोदामघरमा भण्डारण गरिएका विपद् व्यवस्थापनसँग सम्बन्धित सामग्रीको अवस्था, सुरक्षित भण्डारण तथा आवश्यकता पर्दा तत्काल परिचालन गर्न सकिने अवस्थाबारे जानकारी लिइएको थियो ।

विपद्का समयमा प्रभावित नागरिकलाई शीघ्र राहत उपलब्ध गराउन गोदामघरको व्यवस्थित व्यवस्थापन र सामग्रीको नियमित निगरानी आवश्यक रहेकोमा टोलीले जोड दिएको छ ।

स्थानीय तह, सरकारी निकाय तथा विकास साझेदार संस्थाबीचको समन्वयलाई प्रभावकारी बनाउँदै विपद् पूर्वतयारी र प्रतिकार्यलाई थप व्यवस्थित बनाउन यस्ता अनुगमनले सहयोग पुग्ने विश्वास गरिएको छ ।

महोत्तरीसहित मधेश प्रदेशमा बाढी, डुबान, आगलागी तथा अन्य विपद्का घटना हुने जोखिमलाई मध्यनजर गर्दै आवश्यक राहत सामग्रीको भण्डारण र तत्काल परिचालनका लागि गोदामघरको भूमिका महत्वपूर्ण मानिन्छ ।