महोत्तरी, २३ साउन । महोत्तरी जिल्लाभर खाना पकाउने एलपी ग्यासको आपूर्ति अवस्था, वितरण प्रणाली तथा सम्भावित कालोबजारी नियन्त्रणका लागि शनिबार सबै ग्यास डिलरमा एकैसाथ अनुगमन गरिएको छ ।

जिल्लामा एलपी ग्यास आपूर्तिको जिम्मेवारीमा रहेका डिलरहरूको संयुक्त टोलीले विभिन्न स्थानमा रहेका ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन तथा निरीक्षण गरेको हो ।

अनुगमनका क्रममा ग्यासको मौज्दात, आपूर्ति तथा वितरण अवस्थाबारे जानकारी लिइएको जनाइएको छ ।

अनुगमन टोलीले जिल्लामा ग्यासको आपूर्ति नियमित रूपमा भइरहेको जनाएको छ ।

आपूर्तिमा समस्या नरहेको अवस्थामा उपभोक्ताले अभाव हुनसक्ने अनुमानका आधारमा आवश्यकताभन्दा बढी ग्यास घरमा सञ्चय नगर्न आग्रह गरिएको छ ।

त्यस्तै, जिल्लाका कुनै पनि स्थानमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा अनावश्यक रूपमा ग्यास जम्माखोरी गर्ने गरेको पाइए तत्काल स्थानीय प्रहरीलाई जानकारी गराउन प्रशासनले उपभोक्तालाई आग्रह गरेको छ ।

प्रशासनले जिल्लाभरका सबै डिलरमा एकैसाथ अनुगमन भइरहेको जानकारी दिँदै ग्यासको आपूर्ति र वितरणलाई सहज तथा व्यवस्थित बनाउन सहयोग गर्न व्यवसायी तथा उपभोक्तालाई अनुरोध गरेको छ ।