रौतहट, २२ साउन । रौतहटको यमुनामाई गाउँपालिका–५ मा बिहीबारदेखि बेपत्ता भएका ६ वर्षीय बालक शुक्रबार बिहान नहरमा मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय सरमुला मियाका ६ वर्षीय छोरा खुसी आलम बिहीबार अपराह्न करिब ३ः३० बजे ४–५ जना साथीहरूसँग घरबाट करिब एक किलोमिटर पश्चिम सडकछेउमा रहेको कल्भर्ट क्षेत्रमा खेल्न गएका थिए ।

उनका साथीहरू घर फर्किए पनि खुसी घर नआएपछि परिवारले आफन्त तथा छिमेकीको सहयोगमा खोजी सुरु गरेका थिए ।

बालकको अवस्था पत्ता नलागेपछि शुक्रबार बिहान उनका बुबा सरमुला मियाले अस्थायी प्रहरी पोस्ट बमनहरमा जानकारी गराएका थिए ।

त्यसपछि असई सञ्जीप सिंहको कमान्डमा प्रहरी टोली खोजीमा परिचालन भएको थियो ।

खोजीका क्रममा बिहान करिब ९ः५५ बजे यमुनामाई गाउँपालिका–५ स्थित सातबम्बा सडकको कल्भर्टबाट करिब २० फिट दक्षिणतर्फ बग्ने नहरमा बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर जीवनकुमार मैनालीको नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।