जनकपुरधाम, २२ साउन । डिभिजन वन कार्यालय धनुषाले आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा हरियाली विस्तार तथा वन संरक्षणलाई प्राथमिकता दिँदै ६६ दशमलव ५ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरेको छ ।

कार्यालयका अनुसार विभिन्न सामुदायिक वन, सार्वजनिक तथा खाली जग्गा र सडक किनारमा ठूलो संख्यामा बाँस, फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपिएको हो ।

कार्यालय प्रमुख विनोद सिंहले वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षण, जैविक विविधताको संरक्षण र भूक्षय नियन्त्रणमा योगदान पुर्‍याएको बताए ।

स्थानीय कालिखोला, दूधपानी र सुनबेरी सामुदायिक वन क्षेत्रमा १२ हजार बाँसका बिरुवा रोपिएको छ । त्यस्तै, केशर दमर सामुदायिक वनमा पाँच सय फलफूलजन्य बिरुवासहित ८ हजार बिरुवा तथा धनुषाधाम वन संरक्षण क्षेत्रमा ३ हजार ४ सय फलफूलजन्यसहित १३ हजार बिरुवा रोपिएको कार्यालयले जनाएको छ ।

कमला नगरपालिकाको सार्वजनिक जग्गामा ९ हजार ६ सय तथा मुगिया हरियाली सामुदायिक वनमा १६ हजार बिरुवा रोपिएका छन् ।

लामो समयदेखि खाली रहेको लक्ष्मीनियाँ गाउँपालिकाको जग्गामा ४ हजार १४५ र जलाइद साझेदारी वन क्षेत्रमा ५ हजार बिरुवा रोपिएको कार्यालय प्रमुख सिंहले जानकारी दिए ।

जलाइद क्षेत्रमा समेत फलफूलजन्य बिरुवा रोपण गरिएको कार्यालयले जनाएको छ ।

यसैगरी, जिल्लाका विभिन्न स्थानमा १७ किलोमिटर सडक किनारमा ३ हजार ४०९ बिरुवा रोपिएको छ । वन कार्यालयले निजी क्षेत्र तथा विभिन्न संघसंस्थालाई समेत १ लाख ५० हजार बिरुवा वितरण गरेको जनाएको छ ।

अतिक्रमण हटाउँदै वन क्षेत्र संरक्षण
वन क्षेत्र अतिक्रमण नियन्त्रणका लागि कार्यालयले अभियान नै सञ्चालन गरेको जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घर, टहरा तथा अन्य संरचना हटाएर करिब १० कट्ठा वन क्षेत्र अतिक्रमणमुक्त गरिएको कार्यालयको दाबी छ ।

धनुषाधाम वन संरक्षण क्षेत्रभित्र निर्माण गरिएका पसल तथा होटल हटाएर करिब तीनदेखि चार कट्ठा जग्गा खाली गराइएको छ ।

त्यस्तै, मालटोल सामुदायिक वन क्षेत्रमा सञ्चालन हुँदै आएको होटल हटाइएको तथा पोखरी दमार सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको घर भत्काएर अतिक्रमित क्षेत्र खाली गराइएको कार्यालयले जनाएको छ ।

वन क्षेत्रको विस्तार र संरक्षणले जैविक विविधता जोगाउन, वातावरणीय सन्तुलन कायम गर्न, भूक्षय नियन्त्रण गर्न तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सकारात्मक प्रभाव पार्ने कार्यालयको भनाइ छ ।

४७ वनमा आधारित उद्यम, १० हरित पार्क
वन संरक्षणसँगै स्थानीय समुदायको आयआर्जन बढाउने उद्देश्यले जिल्लाका ४७ वटा वनमा आधारित उद्यम सञ्चालन गरिएको छ ।

यस्ता उद्यममार्फत वनमा आश्रित समुदायलाई रोजगारी तथा आयआर्जनसँग जोड्ने प्रयास गरिएको कार्यालयले जनाएको छ ।

हरित पार्क प्रवर्द्धन कार्यक्रमअन्तर्गत जनकपुरधाम उपमहानगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, मिथिला बिहारी नगरपालिका र मिथिला नगरपालिकामा गरी १० वटा हरित पार्क निर्माण गरिएको प्रमुख सिंहले बताए ।

वनबाट ४६ लाखभन्दा बढी राजस्व
डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रोयल्टी, मूल्य अभिवृद्धि करलगायत विभिन्न शीर्षकबाट ४६ लाख ६९५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

त्यसमध्ये निजी वन क्षेत्रबाट ३९ लाख ६० हजार ४१६ रुपैयाँ, सामुदायिक वन क्षेत्रबाट रोयल्टीबापत ३ लाख ७ हजार ६१२ रुपैयाँ र मूल्य अभिवृद्धि करतर्फ १ लाख ३० हजार ८३६ रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ ।

यस अवधिमा अवैध वन पैदावार ओसारपसार तथा वन क्षेत्रमा हानि–नोक्सानीसम्बन्धी चारवटा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

सो क्रममा १९ दशमलव २५ घनमिटर सालको काठ बरामद गरिएको कार्यालय प्रमुख सिंहले बताए ।

पाँचवटा सामुदायिक वनबाट ७ हजार ६२३ दशमलव ७२ घनफिट काठ सङ्कलनका लागि कार्यालयले सहमति दिएको थियो ।

निजी वनबाट २ लाख ५१ हजार ६२२ दशमलव ३२ घनफिट काठ तथा सामुदायिक वनबाट ७ दशमलव ३८ चट्टा दाउरा उत्पादनका लागि अनुमति दिइएको कार्यालयले जनाएको छ ।

घरकाज र आगलागी पीडितलाई काठ
कार्यालयले जिल्लाभित्र घरकाज तथा विपद् व्यवस्थापनका लागि १५२ दशमलव ३८ घनफिट काठ उपलब्ध गराएको छ ।

त्यसमध्ये ३१ दशमलव १६ घनफिट घरकाजका लागि र १२१ दशमलव २२ घनफिट आगलागी पीडितलाई वितरण गरिएको प्रमुख सिंहले जानकारी दिए ।

कार्यालयले आगामी आर्थिक वर्षमा पनि वन संरक्षणलाई निरन्तरता दिँदै स्थानीय समुदायको आयआर्जन वृद्धि, वनमा आधारित उद्यमको प्रवर्द्धन र जिल्लामा हरियाली विस्तारलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।