जनकपुरधाम, २२ साउन । जनकपुरधामस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा चार करोडभन्दा बढी माछाका भुरा उत्पादन गरेको छ ।

केन्द्रले उक्त अवधिमा विभिन्न प्रजातिका ४ करोड ३८ लाख ह्याचलिङ उत्पादन गरी किसानलाई बिक्री वितरण गरेको हो ।

केन्द्रका प्रमुख ज्ञानबहादुर जिरेलका अनुसार गत आर्थिक वर्षमा ३२ लाख फ्राइ, १३ लाख ८२ हजार फिङ्गरलिङ तथा २ हजार ५३ किलो खाने माछा समेत उत्पादन गरिएको छ ।

भुरा बिक्रीबाट केन्द्रले ३४ लाख ३५ हजार ५ सय ३६ रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै, सरकारी सम्पत्ति बहालबाट ३ लाख २४ हजार ३ सय रुपैयाँ र अन्य प्रशासनिक सेवा प्रवाहबाट ५९ हजार रुपैयाँ आम्दानी भएको केन्द्रले जनाएको छ ।

केन्द्रमा उत्पादन हुने माछाका भुरा मधेस प्रदेशका विभिन्न जिल्लाका साथै बागमती र कोशी प्रदेशसम्मका किसानले खरिद गर्दै आएका छन् ।

धनुषा, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका किसानसँगै काठमाडौँ, सिन्धुली, रामेछाप, दोलखा तथा सुनसरीका किसानसमेत केन्द्रबाट भुरा लैजाने गरेका छन् ।

केन्द्रले मुख्य रूपमा रहु, नैनी, भाकुर, कमन कार्प, सिल्भर कार्प, बिगहेड कार्प र ग्रास कार्पका भुरा उत्पादन गर्दै आएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा भने ह्याचलिङ उत्पादन केही घटेको देखिएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा केन्द्रले ४ करोड ७५ लाख ५ हजार ह्याचलिङ, ३२ लाख ३६ हजार फ्राइ, १२ लाख ६२ हजार फिङ्गरलिङ तथा २ हजार किलो खाने माछा उत्पादन गरेको थियो ।

माछाको उत्पादन र व्यवसाय प्रवर्द्धनसँगै केन्द्रले निजी क्षेत्रका ह्याचरी सञ्चालक तथा किसानलाई तालिम र प्राविधिक ज्ञानसमेत उपलब्ध गराउँदै आएको छ । यसले व्यावसायिक माछापालनमा संलग्न किसानलाई आवश्यक प्राविधिक सहयोग पुग्दै आएको केन्द्रको भनाइ छ ।

वि.सं. २०१८ मा स्थापना भएको केन्द्रमा हाल ७८ वटा माछापोखरी रहेका छन् । तीमध्ये १९ वटा पोखरी प्रयोगविहीन अवस्थामा छन् ।

प्रयोगमा रहेका पोखरीमार्फत भुरा उत्पादन तथा खाने माछा उत्पादनको काम हुँदै आएको केन्द्रले जनाएको छ ।