सवारी लाइसेन्सको नयाँ EDL प्रणालीमा सुधारपछि मात्रै लिखित र प्रयोगात्मक परीक्षा हुने

जनकपुरधाम, २२ साउन । यातायात व्यवस्था कार्यालय जनकपुरधामले सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सेवा नयाँ प्रविधि EDL प्रणाली मार्फत सञ्चालन गरिरहेको जनाएको छ ।
कार्यालयले प्रणालीमा सुधार तथा स्थायित्व आएपछि मात्र लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालनबारे सूचना प्रकाशित गर्ने जनाएको हो ।
कार्यालयले शुक्रबार जारी गरेको सूचनामा यातायात व्यवस्था विभाग मिनभवन काठमाडौँबाट नयाँ प्रविधि (EDL) सञ्चालनमा आएपछि हाल कार्यालयबाट आंशिक रूपमा सेवा प्रवाह भइरहेको उल्लेख छ ।
EDL प्रणाली पूर्ण रूपमा सुधार भएपछि सवारी चालक अनुमति पत्रका लागि आवश्यक लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गरिने र त्यसको जानकारी कार्यालयले सार्वजनिक सूचनामार्फत गराउने कार्यालयले जनाएको छ ।
नयाँ प्रणालीमार्फत सेवाग्राहीले सवारी चालक अनुमति पत्रसँग सम्बन्धित आवेदन तथा भुक्तानीका अधिकांश प्रक्रिया आफैँ eSewa, Khalti, Connect IPS तथा Mobile Banking लगायतका माध्यमबाट अनलाइन गर्न सक्ने व्यवस्था गरिएको छ ।
तर, नयाँ सफ्टवेयर सञ्चालनमा आए पनि बेलाबखत प्राविधिक समस्या देखिने गरेको कार्यालयले जनाएको छ ।
स्थानीय कार्यालयबाट सबै प्रकारका प्राविधिक समस्या समाधान गर्न सम्भव नभएकाले त्यस्ता समस्या एकीकृत रूपमा संकलन गरी यातायात व्यवस्था विभागमा पठाउने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।
यसका लागि tasks.prabidhi.bid पोर्टल सञ्चालनमा ल्याइएको जनाउँदै कार्यालयले लाइसेन्ससम्बन्धी कुनै समस्या देखिएमा त्यसको स्क्रिनसटसहित समस्या स्पष्ट रूपमा उल्लेख गरी पोर्टलमा पठाउन सेवाग्राहीलाई आग्रह गरेको छ ।
कार्यालयले नवीकरण तथा प्रतिलिपिका लागि अनुरोध गर्दा यस कार्यालयबाट जारी भएको सम्बन्धित सवारी चालक अनुमति पत्र मात्र ‘रिक्वेस्ट’ गर्न पनि अनुरोध गरेको छ ।
त्यस्तै, नयाँ तथा थप वर्गका लागि edlvrs.madhesh.gov.np/edl मार्फत आवेदन (Submit) गर्नुपर्ने जनाएको छ ।
प्राविधिक समस्या तथा अन्य जानकारीका लागि सेवाग्राहीले मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागमा सम्पर्क गर्न सक्ने कार्यालयले जनाएको छ ।
सूचनामा मन्त्रालयको इमेल [email protected] र यातायात व्यवस्था विभागको [email protected] उल्लेख गरिएको छ ।
कार्यालयले EDL प्रणालीमा सुधारको काम भइरहेकाले सेवाग्राहीलाई अनावश्यक रूपमा कार्यालय धाउनुभन्दा अनलाइन प्रणाली र तोकिएको पोर्टल प्रयोग गर्न आग्रह गरेको छ ।


