सिरहा, २२ साउन । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाबाट प्रहरीले ५३ किलोभन्दा बढी अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको गस्ती टोलीले बिहीबार राति सखुवानन्कारकट्टी गाउँपालिका–४ सिमरास्थित बलान खोलाबाट ५३ किलो ४६५ ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार राति करिब ११ः५० बजे नियमित गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि चार जना व्यक्तिले टाउकोमा बोकेर ल्याइरहेका चार वटा प्लास्टिकका बोरा बाटोमै फालेर फरार भएका थिए ।

प्रहरीले तत्काल ती बोरा नियन्त्रणमा लिएर जाँच गर्दा गाँजा जस्तो देखिने पदार्थ फेला पारेको थियो । बरामद पदार्थलाई प्रहरी कार्यालयमा ल्याई तौल गर्दा ५३ किलो ४६५ ग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी भइरहेको छ ।

घटनाबारे थप अनुसन्धानसमेत अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।