ढल्केबरमै ट्रमा सेन्टर बनाउन माग गर्दै आन्दोलनको घोषणा

जनकपुरधाम, २२ साउन । धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न खोजिएको भन्दै स्थानीयले आन्दोलनको घोषणा गरेका छन् ।
ट्रमा सेन्टर प्रस्तावित स्थानमै निर्माण गर्नुपर्ने माग राख्दै संघर्ष समितिले शुक्रबार ढल्केबरमा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
संघर्ष समितिका अनुसार साउन २३ गते ढल्केबरमा राँके जुलुस प्रदर्शन गरिनेछ । त्यसपछि साउन २४ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत ढल्केबरमा आधा घण्टा चक्काजाम गरिनेछ ।
साउन २५ गतेदेखि चक्काजामको अवधि क्रमशः बढाउँदै लैजाने समितिले जनाएको छ ।
समितिले साउन २६ गते बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म तथा साउन २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म राजमार्ग अवरुद्ध गर्ने कार्यक्रम तय गरेको छ ।
यसअघि संघर्ष समितिले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै ढल्केबरमै ट्रमा सेन्टर निर्माण गर्न माग गरेको थियो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार प्रतिनिधिसभामा ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी दिएपछि ढल्केबरमा विरोध सुरु भएको हो ।
स्थानीयले सरकारले यसअघि गरेको निर्णय र बजेट विनियोजनविपरीत ट्रमा सेन्टरको स्थान परिवर्तन गर्न खोजेको आरोप लगाएका छन् ।
संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा मिथिला नगरपालिका–७, साविक ढल्केबर गाविस–२ ‘क’ को कित्ता नम्बर १६९ मा रहेको चार बिघा ऐलानी जग्गालाई आधार बनाएर ट्रमा सेन्टर निर्माणका लागि पहिलोपटक बजेट विनियोजन गरेको थियो ।
मिथिला नगरपालिकाका प्रमुख महतोका अनुसार ट्रमा सेन्टरका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको छ भने जग्गाको लालपुर्जा समेत बनिसकेको छ । त्यसैले सरकारले विगतमा अघि बढाएको योजना कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।
मन्त्री मेहताले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत ढल्केबरमै ट्रमा सेन्टर निर्माण गर्ने सरकारको योजना यथावत् रहेको स्पष्ट पार्दै त्यससम्बन्धी भ्रममा नपर्न आग्रह गरेकी थिइन् ।
तर, नगर प्रमुख महतोले प्रतिनिधिसभामा मन्त्रीले दिएको अभिव्यक्ति र सामाजिक सञ्जालमा लेखिएको स्पष्टीकरणबीच फरक रहेको भन्दै सामाजिक सञ्जालमार्फत आएको धारणा मात्र पर्याप्त नहुने बताएका छन् ।
ढल्केबरमा ट्रमा सेन्टर निर्माणको मागलाई लिएर स्थानीयस्तरमा दबाब बढ्दै गएपछि पूर्वपश्चिम राजमार्गमा हुने चक्काजामलगायतका आन्दोलनका कार्यक्रमले यातायातसमेत प्रभावित हुन सक्ने देखिएको छ ।

