मृग बचाउन खोज्दा पल्टियो पेट्रोल ट्याङ्कर, आगलागीपछि पूर्ण रूपमा नष्ट

रौतहट, २१ साउन । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक बिहीबार बिहान पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ । घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ पेट्रोल लिएर जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर सडकमा आएको मृगलाई जोगाउने प्रयासमा अनियन्त्रित भई सडकको दायाँ किनारमा पल्टिएको थियो। पल्टिनासाथ ट्याङ्करमा आगलागी भएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार चालक समिर गुरुङले मृग बचाउने क्रममा सवारी नियन्त्रणबाहिर गएको बताएका छन् । दुर्घटनापछि लागेको आगोले ट्याङ्कर पूर्ण रूपमा ध्वस्त भएको छ ।
चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाबाट पुगेका दमकलको संयुक्त प्रयासमा बिहान करिब ६:५० बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणमा आएपछि राजमार्गमा सवारी आवागमन पनि सामान्य अवस्थामा सञ्चालन गरिएको थियो ।
दुर्घटनामा ट्याङ्कर पूर्ण रूपमा क्षति भए पनि चालक सुरक्षित रहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले चालक, बाराको सिमरा उपमहानगरपालिका–११ निवासी करिब २५ वर्षीय समिर गुरुङलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना चन्द्रपुर नगरपालिकादेखि करिब १३ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा भएको हो ।

