श्रद्धाञ्जली सभामा राजनीतिक आरोप–प्रत्यारोप, गोलबजारमा कार्यक्रम बीचमै अवरुद्ध

सिरहा, २१ साउन । सुनसरीको देवानगन्ज घटनापछि सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा ज्यान गुमाएका युवक गणेश यादवको सम्झनामा आयोजित श्रद्धाञ्जली सभा विवादमा परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेश सभापति तथा सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि कार्यक्रमस्थलमा विवाद उत्पन्न हुँदा सभा नै बीचमै अवरुद्ध भएको हो ।
गोलबजारस्थित उद्योग व्यापार संघको सभाहलमा आयोजित श्रद्धाञ्जली सभामा सांसद यादवले सुनसरी र सिरहामा भएका घटनापछि सरकारमाथि अनावश्यक आरोप लगाइएको दाबी गर्दै मधेशमा तनाव सिर्जना हुनुमा सरकारभन्दा समाजका केही व्यक्ति र विपक्षी दलहरू जिम्मेवार रहेको आशयको अभिव्यक्ति दिएका थिए ।
उनले सरकारविरुद्ध सुनियोजित षड्यन्त्र भएको आरोपसमेत लगाएका थिए ।
उनको अभिव्यक्ति लामो बन्दै गएपछि सभामा सहभागी केही व्यक्तिले श्रद्धाञ्जली कार्यक्रममा राजनीतिक टिप्पणी नगर्न आग्रह गरेका थिए । तर, त्यसपछि दुई पक्षबीच भनाभन सुरु हुँदा कार्यक्रमको वातावरण तनावग्रस्त बनेको थियो ।
विवाद बढेपछि कार्यक्रम नै भाँडिएको आयोजकहरूले बताएका छन् । स्थिति असहज बनेपछि सांसद यादव प्रहरीको सुरक्षामा कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।
सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले कुनै गलत कुरा नगरेको र विपक्षी दलहरू असन्तुष्ट बनेको टिप्पणी गरेका छन् ।
यता, मधेश प्रदेशका पूर्वसांसद जगतप्रसाद यादवले भने श्रद्धाञ्जली सभालाई राजनीतिक रंग दिन खोजिएकै कारण कार्यक्रम प्रभावित भएको आरोप लगाए ।
उनका अनुसार मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भए पनि राजनीतिक अभिव्यक्तिका कारण उद्देश्य पूरा हुन सकेन ।
आयोजकका अनुसार श्रद्धाञ्जली सभापछि गोलबजारमा सामूहिक सद्भाव र्याली निकाल्ने तथा त्यसपछि बन्द रहेका पसलहरू सञ्चालन गर्ने तयारी गरिएको थियो । तर, कार्यक्रममै विवाद उत्पन्न भएपछि तय गरिएका कार्यक्रम अन्योलमा परेका छन् ।
केही सहभागीले विवादका कारण आफूहरू असुरक्षित महसुस गरेको समेत बताएका छन् ।
सुनसरीको देवानगन्ज घटनापछि मधेशका विभिन्न जिल्लामा तनावको अवस्था देखिएको थियो ।
पछिल्ला दिनहरूमा स्थानीय तह, प्रशासन तथा विभिन्न पक्षले सामाजिक सद्भाव कायम गर्न पहल गरिरहेका बेला गोलबजारको यो घटनाले पुनः स्थानीय स्तरमा चिन्ता बढाएको छ ।

