यातायात कार्यालय जनकपुरधामको राजस्वमा गिरावट

जनकपुरधाम, २१ साउन । यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा ५७ करोड १५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
नयाँ सवारी दर्ता, सवारी नवीकरण, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलगायतका सेवामार्फत कार्यालयले कुल ५७ करोड १५ लाख ३० हजार ६३६ रूपैयाँ राजस्व उठाएको हो ।
कार्यालय प्रमुख वासुदेव मल्लका अनुसार यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ९ करोड ५४ लाख १३ हजार ३४४ ले कम हो ।
आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले विभिन्न शीर्षकबाट ६६ करोड ६९ लाख ४३ हजार ९८० रूपैयाँ राजस्व संकलन गरेको थियो ।
राजस्व घट्नुको मुख्य कारण गत भदौमा भएको ‘जेनजी’ आन्दोलन र आर्थिक वर्षको अन्तिम चरणमा यातायात व्यवस्था विभागले नयाँ सफ्टवेयर प्रणाली कार्यान्वयनका क्रममा आएको प्राविधिक ढिलाइ रहेको कार्यालयले जनाएको छ ।
ती कारणले केही समय सेवा प्रवाह प्रभावित हुँदा राजस्व संकलनमा प्रत्यक्ष असर परेको कार्यालयको भनाइ छ ।
कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २१ हजार २९४ वटा नयाँ सवारीसाधन दर्ता भएका छन् । दर्ता हुनेमध्ये सबैभन्दा धेरै १६ हजार ९५७ वटा मोटरसाइकल रहेका छन् ।
त्यसैगरी १ हजार ९०२ वटा टेम्पो तथा विद्युतीय रिक्सा, १ हजार २२ वटा ट्र्याक्टर, २२६ वटा जिप तथा कार र १८७ वटा बस तथा ट्रक दर्ता भएका छन् ।
यस्तै, सोही अवधिमा नयाँ तथा वर्ग थपसहित १३ हजार ३३८ जनालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको कार्यालयले जनाएको छ ।
यातायात व्यवस्था कार्यालयले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै राजस्व संकलन बढाउने र सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउनेतर्फ आगामी वर्ष विशेष ध्यान दिइने जनाएको छ ।

