जनकपुरधाम, २१ साउन । नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशले आफ्नो ४२औँ वार्षिकोत्सव विविध सामाजिक तथा मानवीय कार्यक्रमका साथ मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा संघले रक्तदान, वृक्षारोपण तथा बिरामीलाई फलफूल वितरण कार्यक्रम आयोजना गरेको हो ।

बिहीबार नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा जनकपुरधाममा आयोजित रक्तदान कार्यक्रममा प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

कार्यक्रममार्फत संकलित ३२ जना रक्तदाताको रगतले आवश्यकतामा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सोही अवसरमा वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण गरिएको छ भने अस्पतालमा उपचाररत बिरामीलाई शीघ्र स्वास्थ्यलाभको कामनासहित फलफूल वितरण गरिएको संघले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारीले नेपाल प्रहरी श्रीमती संघले सामाजिक उत्तरदायित्वसँगै प्रहरी परिवारको मनोबल अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताए ।

प्रहरी कर्मचारीहरू चौबीसै घण्टा नागरिकको सुरक्षामा खटिने भएकाले उनीहरू र उनीहरूको परिवारलाई हौसला प्रदान गर्ने कार्य प्रशंसनीय रहेको उनले उल्लेख गरे ।

डिआईजी अधिकारीले रक्तदानलाई जीवनदानसँग जोड्दै संकलित रगतले भविष्यमा आवश्यकतामा परेका बिरामीको ज्यान बचाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले वृक्षारोपणले वातावरण संरक्षणका साथै भावी पुस्ताका लागि हरियाली र स्वच्छ वातावरण निर्माणमा टेवा पुग्ने धारणा पनि राखे ।

नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशकी अध्यक्ष मनिषा उप्रेतीले संघले प्रहरी र समुदायबीचको सम्बन्धलाई थप बलियो बनाउन निरन्तर सामाजिक तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।

वार्षिकोत्सवलाई औपचारिक समारोहमा सीमित नराखी समाजलाई प्रत्यक्ष लाभ पुग्ने गतिविधि सञ्चालन गरिएको उनले जानकारी दिइन् ।

संघले आगामी दिनमा पनि रक्तदान, स्वास्थ्य, वातावरण संरक्षण तथा समुदायसँग सहकार्य गर्ने यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।