जनकपुरधाममा फोहोर व्यवस्थापनका लागि जग्गा खोज्दै उपमहानगर

जनकपुरधाम, २० साउन । जनकपुरधाम उपमहानगरपालिकाले दैनिक उत्पादन हुने फोहोरमैला व्यवस्थापनका लागि उपयुक्त जग्गा भाडामा लिन सार्वजनिक सूचना जारी गर्दै इच्छुक जग्गाधनीहरूबाट १५ दिनभित्र निवेदन माग गरेको छ ।
उपमहानगरपालिकाले मंगलबार पहिलो पटक प्रकाशित सूचनामार्फत जनकपुरधाम उपमहानगरपालिकाभित्र पर्ने उपयुक्त जग्गा उपलब्ध गराउन इच्छुक जग्गाधनीहरूलाई आवश्यक कागजातसहित निवेदन पेश गर्न आग्रह गरेको हो ।
सूचनाअनुसार फोहोर व्यवस्थापनका लागि प्रस्ताव गरिने जग्गा एकै ठाउँमा हुनुपर्नेछ । यदि साँधसिमाना जोडिएका छुट्टाछुट्टै जग्गा भए सम्बन्धित जग्गाधनीहरूले संयुक्त रूपमा पनि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी दर्ता प्रमाणपत्र, चालु आर्थिक वर्षको मालपोत तिरेको रसिद तथा जग्गाको नक्सा अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।
साथै जग्गाधनी स्वयं उपस्थित हुनुपर्ने र उपस्थित हुन नसके प्रचलित कानुनअनुसार प्रतिनिधि वा वारेसमार्फत निवेदन दिन सकिने जनाइएको छ ।
उपमहानगरपालिकाले फोहोर व्यवस्थापन स्थलका लागि केही मापदण्डसमेत तोकेको छ ।
प्रस्तावित जग्गाले बस्ती, विद्यालय, सार्वजनिक बाटो, कुलो, मसानघाट, सार्वजनिक वा सामुदायिक जग्गा, वन क्षेत्र, सरकारी कार्यालय तथा नदी–नालालगायत क्षेत्र अतिक्रमण नगरेको हुनुपर्नेछ ।
साथै जग्गामा स्वामित्वसम्बन्धी कुनै विवाद नभएको, सवारीसाधन पुग्ने बाटो भएको तथा बस्ती र विद्यालयबाट कम्तीमा एक किलोमिटर टाढा रहेको हुनुपर्ने उल्लेख गरिएको छ ।
जग्गाधनीले निवेदनमा आफूले जग्गा भाडामा उपलब्ध गराउने दर अंक र अक्षर दुवैमा स्पष्ट उल्लेख गर्नुपर्नेछ ।
उपमहानगरपालिकाले फोहोर व्यवस्थापनलाई दीर्घकालीन र व्यवस्थित बनाउन उपयुक्त स्थानको खोजी सुरु गरिएको जनाएको छ ।
यस सम्बन्धमा थप जानकारी आवश्यक परे सरसफाइ शाखामा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।


