जनकपुरधाम, २० साउन । धनुषा जिल्लामा पछिल्लो दुई दशकमा वनक्षेत्र उल्लेखनीय रूपमा विस्तार भएको छ ।

वृक्षरोपण अभियान, निजी जग्गामा बढ्दो हरियाली तथा विभिन्न निकायको सक्रियताका कारण जिल्लाको वनक्षेत्र ११.१७ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

डिभिजन वन कार्यालय धनुषाका अनुसार सन् २००० मा २७ हजार ५७८ हेक्टर रहेको वनक्षेत्र सन् २०२३ सम्म आइपुग्दा ३० हजार ६५८ हेक्टर पुगेको छ । यस अवधिमा जिल्लामा तीन हजार ८० हेक्टर वनक्षेत्र थपिएको कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहका अनुसार वनक्षेत्र विस्तार हुनुमा निजी वनको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको छ ।

राष्ट्रिय वनको क्षेत्रफलमा खासै परिवर्तन नभए पनि निजी जग्गामा व्यापक रूपमा वृक्षरोपण भएकाले समग्र वनक्षेत्र बढेको उनले बताए ।

उनका अनुसार पछिल्ला वर्षहरूमा किसान तथा स्थानीय बासिन्दाले आँपसहित विभिन्न फलफूलका बिरुवा, सिसौ, सपेता लगायत काठजन्य प्रजातिका रुख रोप्न थालेपछि निजी वनको अवधारणा विस्तार हुँदै गएको छ ।

वन कार्यालय, समृद्धि वन परियोजना तथा विभिन्न विकास साझेदार संस्थाले सञ्चालन गरेका वृक्षरोपण कार्यक्रमले पनि हरियाली विस्तारमा टेवा पुर्‍याएको उनको भनाइ छ ।

वन अधिकृत अनिल साहले प्रचलित मापदण्डअनुसार एकै स्थानमा कम्तीमा आधा हेक्टर क्षेत्रफलमा रुखबिरुवा भए त्यसलाई वनक्षेत्रका रूपमा गणना गरिने जानकारी दिए ।

यही आधारमा निजी जग्गामा विकसित भएका हरियाली क्षेत्र पनि वनक्षेत्रको तथ्याङ्कमा समावेश गरिएको उनले बताए ।

उनका अनुसार किसानहरूले कृषि उत्पादनसँगै काठ तथा फलफूलबाट अतिरिक्त आम्दानी लिन थालेपछि निजी जग्गामा वृक्षरोपणको आकर्षण बढेको छ ।

गत आर्थिक वर्षमा मात्रै वन कार्यालयले निजी क्षेत्र तथा विभिन्न संघसंस्थामार्फत एक लाख ५० हजार बिरुवा वितरण गरेको जनाएको छ ।

साथै नदी उकास, सार्वजनिक खाली जग्गा तथा अन्य उपयुक्त स्थानमा ६० हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको कार्यालयको तथ्याङ्क छ ।

वन कार्यालयका अनुसार वनक्षेत्र विस्तारले जैविक विविधता संरक्षण, वातावरणीय सन्तुलन कायम, भूक्षय नियन्त्रण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा सकारात्मक योगदान पुर्‍याएको छ ।

हरियाली बढेसँगै स्थानीय स्तरमा तापक्रम नियन्त्रण, भूजल पुनर्भरण र वन्यजन्तुको वासस्थान संरक्षणमा समेत सहयोग पुगेको कार्यालयको दाबी छ ।