जनकपुरधाम, २० साउन । सुनसरी घटनापछि सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गणेश यादवको मृत्यु भएको घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय समितिले प्रारम्भिक अनुसन्धान सम्पन्न गरेको छ ।

तीन दिनसम्म घटनास्थलमा रहेर तथ्य, प्रमाण र सरोकारवालाको धारणा संकलन गरेको टोली काठमाडौं फर्किएको हो ।

गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको छानबिन समितिले गोलबजारमा घटनास्थलको निरीक्षण गर्नुका साथै राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी, समुदायका अगुवा, प्रत्यक्षदर्शी, सुरक्षा निकाय तथा जिल्ला प्रशासनका अधिकारीहरूसँग छलफल गरेको जनाएको छ ।

समितिका सदस्यसचिव तथा गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्यालका अनुसार टोलीले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई धरान पुगेर भेटेको थियो ।

उपचारमा संलग्न चिकित्सकसँगको छलफलका आधारमा घाइतेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र केही दिनभित्र अस्पतालबाट डिस्चार्ज हुने जानकारी प्राप्त भएको उनले बताए ।

अनुसन्धानका क्रममा समितिले गोलबजार नगरपालिकामा सर्वदलीय बैठक आयोजना गरी स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूबाट घटनाको पृष्ठभूमि र आन्दोलनको अवस्थाबारे जानकारी लिएको थियो ।

त्यसपछि उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरूसँग भेटेर आन्दोलनका क्रममा भएको भौतिक क्षति, व्यवसायमा परेको असर र उनीहरूका गुनासा सुनेको छ ।

यसैगरी मुस्लिम समुदायका प्रतिनिधिसँग छुट्टै छलफल गरी घटनापछि सामाजिक सद्भाव कायम गर्ने उपाय, समुदायको धारणा तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायबारे समेत सुझाव संकलन गरिएको समितिले जनाएको छ ।

व्यवसायिक संरचना तथा सम्पत्तिमा भएको क्षतिको यकिन विवरण स्थानीय प्रशासन र जिल्ला प्रशासन कार्यालयले संकलन गरिरहेको उपसचिव अर्यालले जानकारी दिए ।

उनका अनुसार गृह मन्त्रालयले तोकेको समयसीमाभित्र घटनासम्बन्धी विस्तृत प्रतिवेदन तयार गरी बुझाइनेछ ।

गोलबजार घटनापछि गृहमन्त्री सुधन गुरुङ स्वयं मृतक गणेश यादवको परिवारलाई भेट्न पुगेका थिए ।

त्यसक्रममा उनले घटनाको निष्पक्ष छानबिन गरिने, सत्यतथ्य सार्वजनिक गरिने तथा दोषीमाथि कानुनअनुसार कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।