धनुषामा ९ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम, २० साउन । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले विभिन्न स्थानबाट खोजतलास गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये पाँच जना लागूऔषध मुद्दाका प्रतिवादी रहेका छन् ।
उनीहरूमध्ये एक जनालाई २ वर्ष ८ महिना कैद र १ लाख ४० हजार रुपैयाँ जरिवाना, तीन जनालाई जनही २ वर्ष कैद र १ लाख रुपैयाँका दरले जरिवाना तथा अर्का एक जनालाई १ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
यस्तै, बिगोसम्बन्धी मुद्दाका एक प्रतिवादीबाट ३ लाख १० हजार २२० रुपैयाँ असुल गर्नुपर्ने फैसला रहेको प्रहरीले जनाएको छ ।
यसैगरी, सवारी ज्यान मुद्दाका एक प्रतिवादीलाई १ महिना कैद र २ हजार रुपैयाँ जरिवाना, चोरी मुद्दाका एक जनालाई १ महिना कैद तथा अर्का एक जनालाई १ महिना १५ दिन कैद र २१ हजार ४५० रुपैयाँ जरिवानाको फैसला भएको थियो ।
पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि धनुषा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए ।
प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ ।

