धनुषामा सम्बन्धविच्छेदका मुद्दा बढदै

जनकपुरधाम, २० साउन । धनुषा जिल्लामा पछिल्ला वर्षहरूमा सम्बन्धविच्छेदका मुद्दा निरन्तर बढ्दै गएका छन् ।
जिल्ला अदालत धनुषाको तथ्याङ्कले वैवाहिक सम्बन्धमा तनाव बढ्दै गएको संकेत गर्दै सामाजिक, आर्थिक र पारिवारिक परिवेशमा आएको परिवर्तन यसको प्रमुख कारण बनेको देखाएको छ ।
जिल्ला अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सम्बन्धविच्छेदसम्बन्धी ३३३ वटा नयाँ मुद्दा दर्ता भएका छन् ।
अघिल्लो आर्थिक वर्षबाट सरेर आएका १६७ मुद्दासहित अदालतमा कुल ५०० वटा सम्बन्धविच्छेदका मुद्दा विचाराधीन रहेका थिए । तीमध्ये २८१ मुद्दाको टुंगो लागिसकेको छ भने २१९ मुद्दा अझै फैसला हुन बाँकी छन् ।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा ३१५ वटा नयाँ मुद्दा दर्ता भएका थिए । सो वर्ष ३४७ मुद्दाको फैसला भएको थियो भने १६७ मुद्दा चालु आर्थिक वर्षमा सरेका थिए । लगातार बढ्दो दर्ताले जिल्लामा वैवाहिक सम्बन्धमा दरार बढ्दै गएको संकेत गरेको छ ।
कानुन व्यवसायी राजकुमार महासेठका अनुसार शिक्षाको विस्तार, महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण, वैदेशिक रोजगारीका कारण पति–पत्नी लामो समयसम्म अलग बस्नुपर्ने अवस्था, सामाजिक सञ्जालको बढ्दो प्रभाव, घरेलु हिंसा र पारिवारिक विवादजस्ता कारणले सम्बन्धविच्छेदका घटना वृद्धि भइरहेका छन् ।
उनले गरिबी, बेरोजगारी, बदलिँदो जीवनशैली, व्यक्तिगत स्वतन्त्रताप्रतिको बढ्दो चेतना तथा वैदेशिक रोजगारीबाट आएको सामाजिक परिवर्तनले पनि दाम्पत्य सम्बन्धमा नयाँ चुनौती थपेको बताए । उनका अनुसार अहिले महिला र पुरुष दुवैले आफू अन्यायमा परेको महसुस भए कानुनी उपचार खोज्ने प्रवृत्ति बढेको छ ।
अर्का कानुन व्यवसायी दीपककुमार विश्वकर्माले सम्बन्धविच्छेदका मुद्दा बढ्दै जाँदा अदालतमा पारिवारिक विवाद समाधानका लागि मध्यस्थता सेवाको आवश्यकता पनि बढेको बताए ।
समयमै वैवाहिक परामर्श, मनोवैज्ञानिक सहयोग, पारिवारिक संवाद र वैवाहिक शिक्षालाई प्रभावकारी बनाउन सके सम्बन्धविच्छेदका घटनामा कमी ल्याउन सकिने उनको भनाइ छ ।
कानुन व्यवसायीहरूका अनुसार बढ्दो सम्बन्धविच्छेदका घटनाले एकातिर व्यक्तिगत अधिकारप्रति समाजमा चेतना बढेको देखाए पनि अर्कोतर्फ परिवारभित्र संवाद, सहिष्णुता र आपसी समझदारी कमजोर बन्दै गएको संकेत पनि गरेको छ ।

