सिरहा, २० साउन । सिरहाको लहान नगरपालिका–२२ सलोखरीबाट प्रहरीले नाइन एमएम पेस्तोल र म्यागेजिनसहित तीन युवालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नियमित सुरक्षा जाँचका क्रममा प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार पक्राउ परेका लहान–२२ निवासी २० वर्षीय सबरजित दासले लगाएको पाइन्टको दाहिने गोजीबाट नाइन एमएम पेस्तोल बरामद भएको थियो ।

घटनाका क्रममा सबरजितसँगै रहेका सोही स्थानका २० वर्षीय गुरुदेव दास र १९ वर्षीय संजय दासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखी हतियारको स्रोत, प्रयोगको उद्देश्य तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।