जनकपुरधाम, २० साउन । जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर नजिकको तेल्हा पोखरीमा डुबेर भारतबाट दर्शनका लागि आएका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको बिहार राज्यस्थित हाजीपुर निवासी २० वर्षीय आदर्शकुमार झा रहेका छन् ।

उनी साथीहरूसँग जानकी मन्दिर दर्शन गर्न जनकपुरधाम आएका बेला गएराति तेल्हा पोखरीमा डुबेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार पोखरीमा डुबेको थाहा पाएलगत्तै स्थानीय युवाहरूले उनको उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल, जनकपुरधाम पुर्‍याएका थिए । तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको जनाएको छ ।

घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।