पर्सामा विभिन्न मुद्दाका १३ फरार प्रतिवादी पक्राउ

पर्सा, २० साउन । मधेश प्रदेशको पर्सा जिल्लामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका १३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाका विभिन्न स्थानमा विशेष खोजतलास अभियान सञ्चालन गरी कैद सजाय तथा जरिवानाको फैसला भइसकेका फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये ६ जना चेक अनादर मुद्दाका रहेका छन् । यस्तै, ३ जना घरेलु हिंसा, २ जना कुटपिट तथा १ जना बिगोभरि भराउने मुद्दामा दोषी ठहर भएका प्रतिवादी छन् ।
बिगोभरि भराउने मुद्दाका एक प्रतिवादीलाई अदालतले दुई वर्ष कैद सजाय सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत पर्सामा उपस्थित गराइएको जानकारी दिए ।
प्रहरीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ ।

