सामाजिक सञ्जालमा भ्रामक र उत्तेजक सामग्री पोस्ट गर्ने तीन जना पक्राउ

सप्तरी, १९ साउन । सामाजिक सञ्जालमार्फत उत्तेजक भिडियो तथा भ्रामक सूचना फैलाएको आरोपमा सप्तरी प्रशासनले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
पछिल्लो समय सामाजिक सद्भाव खल्बल्याउने खालका सामग्रीको प्रसार बढेपछि जिल्ला प्रशासन कार्यालय सप्तरीले निगरानी कडा बनाएको हो ।
जिल्ला प्रशासन कार्यालयले शाखा अधिकृत सन्तोष रायको संयोजकत्वमा ‘ज्वाइन्ट अपरेसन सेल’ गठन गरी सामाजिक सञ्जालमा भइरहेका गतिविधिमाथि निगरानी सुरु गरेको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी नरेशकुमार यादवका अनुसार निगरानीका क्रममा तीन जनालाई नियन्त्रणमा लिइएको थियो ।
तीमध्ये तिरहुत गाउँपालिका–४ डिमनका २३ वर्षीय जफिर मियाँ र रूपनी गाउँपालिका–१ का ३९ वर्षीय मुकेश यादवलाई सम्झाइबुझाइपछि छाडिएको छ भने राजविराज नगरपालिका–६ का २० वर्षीय छोटुकुमार मेस्तरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।
प्रशासनका अनुसार हालसम्म सामाजिक सञ्जालमा उत्तेजक तथा भ्रामक सामग्री पोस्ट गर्ने १० जनाको पहिचान गरिएको छ ।
छिन्नमस्ता गाउँपालिका–३ का आनन्द चौधरी, हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का रामकुमार महतो, राजविराज नगरपालिका–६ का २८ वर्षीय विशाल चौधरी, राजविराज–२ स्थित राजदेवी ड्राइभिङ सेन्टरका सञ्चालक ३५ वर्षीय आशिष यादव तथा सुरुङ्गा नगरपालिका–१० कदमाहाका दिनेशकुमार यादवलाई आफूले पोस्ट गरेका सामग्री हटाउन लगाइएको प्रशासनले जनाएको छ ।
यस्तै, वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेका केही व्यक्तिले समेत सामाजिक सञ्जालमार्फत उत्तेजक सामग्री प्रसारण गरेको भेटिएको प्रशासनले जनाएको छ ।
राजविराज नगरपालिका–७ घर भई हाल टर्कीमा रहेका सिनु साह तथा सुनसरीको हरिनगर गाउँपालिका–६ घर भई हाल कतारमा रहेका २८ वर्षीय असिम अन्सारीले पनि यस्ता सामग्री पोस्ट गरेको प्रशासनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयले सामाजिक सद्भाव, शान्ति र सार्वजनिक सुव्यवस्थामा असर पुग्ने गरी भ्रामक तथा उत्तेजक सामग्री पोस्ट नगर्न सबैलाई आग्रह गर्दै यस्ता गतिविधिमाथि निरन्तर निगरानी जारी रहने जनाएको छ ।

