बालिकासम्बन्धी कसुरको घटनामा अपुष्ट समाचार प्रसारण नगर्न पर्सा प्रहरीको आग्रह

पर्सा, १९ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिकाविरुद्धको कसुरसम्बन्धी घटनामा अनुसन्धान जारी रहेकाले आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले सोमबार एक ध्यानाकर्षण विज्ञप्ति जारी गर्दै अनुसन्धान सम्पन्न नहुँदै अनुमान, अपुष्ट सूचना वा एकपक्षीय आधारमा समाचार सम्प्रेषण नगर्न अनुरोध गरेका हुन् ।
उनका अनुसार यस्ता सामग्रीले अनुसन्धान प्रक्रियामा प्रतिकूल असर पार्नुका साथै सम्बन्धित पक्षको अधिकारमा समेत प्रभाव पार्न सक्छ ।
प्रहरीका अनुसार साउन ९ गते वीरगञ्ज महानगरपालिका–१३ राधेमाई टोलकी एक बालिकामाथि बालबालिकाविरुद्धको कसुर भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको थियो ।
जाहेरी प्राप्त भएपछि प्रहरीले निखिलसिंह राजपुतलाई नियन्त्रणमा लिई प्रचलित कानुनअनुसार अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
प्रवक्ता मल्लले अनुसन्धान निष्पक्ष, स्वतन्त्र र गोपनीय ढंगले प्रमाणका आधारमा भइरहेको उल्लेख गर्दै तथ्य पुष्टि नभएका सूचना सार्वजनिक गर्दा सर्वसाधारणमा भ्रम फैलिन सक्ने र अनुसन्धानमा अवरोध पुग्न सक्ने बताए ।
उनले प्रहरी कानुनसम्मत, पारदर्शी र निष्पक्ष अनुसन्धानप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुसन्धान पूरा भएपछि सार्वजनिक गर्न मिल्ने विवरण आधिकारिक रूपमा उपलब्ध गराइने स्पष्ट पारे ।

