जनकपुरधाम, १९ साउन । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ८ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ परेकाहरूलाई धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयनका क्रममा खोजतलास गरी नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत धनुषामा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सवारी ज्यान मुद्दाका एक प्रतिवादीलाई १५ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

यस्तै दुई जनालाई एक–एक वर्ष कैद र पाँच–पाँच हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

त्यसैगरी चोरी मुद्दाका दुई प्रतिवादीलाई क्रमशः एक महिना कैदसँगै एक लाख ६० हजार रुपैयाँ तथा एक लाख १३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

जालसाजी मुद्दाका दुई प्रतिवादीमध्ये एक जनालाई १२ हजार ५०० रुपैयाँ जरिवाना तथा अर्कोलाई कैद सजाय नभई १२ हजार ५०० रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

लागुऔषध मुद्दाका एक प्रतिवादीलाई भने एक वर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत फरार प्रतिवादीको खोजी तथा पक्राउ कार्यलाई निरन्तरता दिएको जनाएको छ ।