सिरहा, १८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादवविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार काष्ठ उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए/नभएको रुजु गरी आवश्यक कागजातसहित फाइल फिर्ता गर्ने प्रक्रियामा सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिँदै घुस मागिएको भन्ने उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो ।

आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानका क्रममा उद्योगमा ल्याइएका काठ बोकेका ट्रकहरूको सिल खोलेको मुचुल्का तयार गरिदिएबापत विभिन्न बहाना बनाएर सेवाग्राहीसँग रकम बार्गेनिङ गरी १२ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ ।

अख्तियारले यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर भएको निष्कर्ष निकाल्दै १२ हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना र कानुनबमोजिम कैद सजायको मागसहित सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।