धनुषामा ११ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम, १८ साउन । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार रहेका प्रतिवादीहरूको खोजतलास तीव्र पारिएको थियो ।
सोही क्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकामध्ये सवारी ज्यान, लागूऔषध तथा कुटपिट सम्बन्धी मुद्दाका प्रतिवादी रहेका छन् ।
उनीहरूमध्ये एक जनालाई सवारी ज्यान मुद्दामा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो भने अन्यलाई १४ दिनदेखि ६ महिनासम्म कैद तथा केहीलाई २ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवानाको सजाय तोकिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट सजाय तोकिएपछि फरार रहने व्यक्तिहरूको खोजी तथा पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ ।
प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन जिल्लाभर विशेष अभियान सञ्चालन भइरहेको छ ।

