सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सर्लाही, १८ साउन । सर्लाही प्रहरीले १०९ किलोग्राम अवैध लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्लाको लालबन्दी नगरपालिका–१ मा सोमबार बिहान विशेष चेकजाँचका क्रममा भारतबाट आएको कारबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले बागमतीबाट जनकपुरधामतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ०९ एम ३७६६ नम्बरको कारलाई रोकेर जाँच गर्दा डिक्कीभित्र २३ वटा पोकामा लुकाएर राखिएको करिब १०९ किलोग्राम गाँजा फेला पारेको हो ।
घटनामा भारतको बिहार राज्य सीतामढी जिल्ला थाना समुद्र क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो र २५ वर्षीय अमन कुमार पक्राउ परेका छन् । पक्राउ परेका दीपक कार चालक रहेको प्रहरीले जनाएको छ ।
बरामद गाँजा, कार तथा पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

