सप्तरीमा निषेधाज्ञा पूर्ण रूपमा हटाइयो, जनजीवन सामान्य बन्दै

सप्तरी, १८ साउन । सप्तरी जिल्लाको राजविराज र बोदेबर्साइन नगरपालिकामा लागू गरिएको निषेधाज्ञा सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले सोमबार सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा निषेधाज्ञा हटाइएको जनाएको हो ।
स्थानीय प्रशासनका अनुसार जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको र परिस्थितिमा सुधार आएपछि निषेधात्मक आदेश हटाउने निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनामा सोमबार बिहान १० बजेदेखि राजविराज र बोदेबर्साइन नगरपालिकामा लागू रहेका सबै निषेधात्मक आदेश स्वतः समाप्त भएको उल्लेख गरिएको छ ।
निषेधाज्ञा हटाइएसँगै दुवै नगरपालिकामा सर्वसाधारणको आवतजावत, व्यापार–व्यवसाय तथा दैनिक गतिविधि पुनः सामान्य रूपमा सञ्चालन हुने विश्वास गरिएको प्रशासनले जनाएको छ ।
यसअघि सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै प्रशासनले ती क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।
पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा सुरक्षा निकायको सुझावका आधारमा उक्त आदेश हटाउने निर्णय गरिएको प्रशासनको भनाइ छ ।


