जनकपुरधामबाट निषेधाज्ञा हटाइयो, सोमबार बिहानैदेखि सबै गतिविधि सञ्चालन

जनकपुरधाम, १८ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका तथा आसपासका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाएको छ ।
जिल्लाको सुरक्षा अवस्था सुधार हुँदै गएको र आन्दोलनरत पक्षले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेपछि निषेधाज्ञा हटाइएको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय गरेको थियोे ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार पछिल्ला दिनमा जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको, बजार, यातायात तथा सार्वजनिक सेवा क्रमशः नियमित हुन थालेको र आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम फिर्ता लिएकाले निषेधाज्ञा कायम राख्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालिएको हो ।
जनकपुरधाममा सम्भावित अप्रिय घटना रोक्न भन्दै गत साउन १६ गते बिहान १० बजेदेखि निषेधाज्ञा लागू गरिएको थियो । त्यस अवधिमा सार्वजनिक भेला, प्रदर्शन तथा आवतजावतमा विभिन्न प्रतिबन्ध लगाइएको थियो ।
यसअघि सरकार र आन्दोलनरत पक्षबीच भएको सहमतिपछि आन्दोलन स्थगित भएको छ । त्यससँगै जनजीवन पनि विस्तारै सामान्य अवस्थामा फर्किन थालेको प्रशासनको भनाइ छ ।
प्रशासनले निषेधाज्ञा हटाइए पनि शान्ति, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षालाई प्राथमिकतामा राख्दै कानुनको पालना गर्न तथा कुनै पनि उच्छृंखल गतिविधिमा संलग्न नहुन सबैसँग आग्रह गरेको छ ।

