जनकपुरधाममा एलपीजी ग्यासको हाहाकार

जनकपुरधाम, १७ साउन । केही दिनअघि सुरक्षा संवेदनशीलताका कारण जारी गरिएको कर्फ्यु र निषेधाज्ञा हटेसँगै जनकपुरधामको बजार खुलेको छ ।
तर, बजार खुले पनि खाना पकाउने एलपीजी ग्यासको अभावले सर्वसाधारण भने समस्यामा परेका छन् ।
शहरका अधिकांश ग्यास डिलर र पसलमा ग्यास उपलब्ध नभएपछि उपभोक्ता खाली सिलिन्डर बोकेर एक डिलरबाट अर्को डिलरसम्म धाउन बाध्य भएका छन् ।
रामानन्द चोक, पिडारी चोक, थापा चोक, भानु चोक, मुरली चोक, पेठिया बजारलगायतका क्षेत्रमा रहेका अधिकांश डिलरले ‘ग्यास सकिएको छ, नाम टिपाएर जानुहोस्, आएपछि खबर गर्छौं’ भन्दै ग्राहकलाई फर्काइरहेका छन् ।
कतिपय डिलर बन्द छन् भने खुलेका स्थानमा पनि ग्यास वितरण हुन सकेको छैन ।
जनकपुरधाम–१० मा डेरा गरी बस्ने सुशीलादेवी साहले ग्यासको खोजीमा १० भन्दा बढी डिलर र पसल धाउँदा पनि सिलिन्डर भर्न नपाएको गुनासो गरिन् ।
उनका अनुसार बिहानदेखि बेलुकासम्म ग्यास खोज्दा पनि कुनै ठाउँमा उपलब्ध हुन सकेन ।
स्थानीय सञ्जय मिश्रले पनि खाना पकाइरहेका बेला ग्यास सकिएपछि ५–७ वटा डिलरमा पुगेको तर कतै पनि ग्यास नपाएको बताए ।
उनले कर्फ्युका बेला बजार बन्द रहेकाले मौज्दात ग्यास सकिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै कृत्रिम अभाव सिर्जना गरिएको आशंका व्यक्त गरे ।
‘दुई दिन बजार नै बन्द थियो । बिक्री नभएको ग्यास एकाएक कसरी सकियो? बजारमा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारीको तयारी भइरहेको जस्तो देखिन्छ,’ उनले भने ।
जनकपुरधाम–८ मा चिया पसल सञ्चालन गर्दै आएकी सुनिता कोइरीले पनि एउटै सिलिन्डरमा व्यवसाय सञ्चालन गरिरहेको बताउँदै ग्यास नपाउँदा पसल सञ्चालनमै समस्या परेको सुनाइन् ।
‘ग्यास सकियो, लिन जाँदा छैन भनेर फर्काइदिन्छन् । सानो व्यवसाय कसरी चलाउने?’ उनले प्रश्न गरिन् ।
ग्यास अभावका कारण विशेषगरी डेरा गरी बस्ने विद्यार्थी, नर्स, ज्यालादारी मजदुर तथा साना व्यवसायी बढी प्रभावित भएका छन् ।
दैनिक खाना पकाउनै समस्या भएपछि उनीहरू वैकल्पिक उपाय खोज्न बाध्य भएका छन् ।
यता, नाम नखुलाउने सर्तमा एक ग्यास बिक्रेताले आन्दोलन सुरु हुनुअघि बजारमा ग्यासको कुनै अभाव नरहेको बताउँदै अहिले एकाएक आपूर्ति प्रभावित हुनुको कारण आफूलाई पनि स्पष्ट नभएको बताए ।
उपभोक्ताहरूले बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुन सक्ने आशंका व्यक्त गर्दै सम्बन्धित निकायलाई तत्काल बजार अनुगमन गर्न, ग्यासको वास्तविक मौज्दात छानबिन गर्न तथा सहज आपूर्तिको व्यवस्था मिलाउन माग गरेका छन् ।

