सिरहा, १७ साउन । सिरहाको गोलबजार नगरपालिकामा लगाइएको कर्फ्यु हटाइएको छ ।

जिल्लाको पछिल्लो शान्ति सुरक्षा अवस्थाको समीक्षा गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबारदेखि लागू हुने गरी कर्फ्यु हटाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यु आदेश आइतबारदेखि हटाइएको छ ।

सुनसरीमा भएको घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनावको प्रभाव गोलबजारमा पनि परेको थियो ।

आन्दोलनका क्रममा प्रहरीसँग भएको झडपमा सिरहाको औरही गाउँपालिका–२ तुलसियाही निवासी १५ वर्षीय गणेश यादवको गोली लागेर मृत्यु भएपछि अवस्था थप तनावपूर्ण बनेको थियो । त्यसपछि प्रशासनले शान्ति सुरक्षा कायम राख्न गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लागू गरेको थियो ।

यसैबीच, पीडित पक्ष र सरकारबीच सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित भएपछि प्रशासनले सुरक्षा अवस्थाको मूल्याङ्कन गरी कर्फ्यु हटाउने निर्णय गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाइए पनि सबै नागरिकलाई कानुनको पूर्ण पालना गर्न, सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न र अपुष्ट सूचना तथा अफवाहको पछि नलाग्न आग्रह गरेको छ ।

साथै, शान्ति भंग हुने कुनै पनि गतिविधि नगर्न तथा जिम्मेवार व्यवहार प्रदर्शन गर्न प्रशासनले सबै पक्षसँग अपिल गरेको छ ।