सरकार र हिन्दू सम्राट सेनाबीच मौखिक समझदारी, बन्दसहितका सबै आन्दोलन स्थगित

जनकपुरधाम, १७ साउन । गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा रहेको सरकारी वार्ता टोली र हिन्दू सम्राट सेना नेपालबीच आन्दोलनसँग सम्बन्धित मागका विषयमा मौखिक समझदारी भएपछि बन्दसहितका सबै आन्दोलनका कार्यक्रम स्थगित भएका छन् ।
आइतबार जनकपुरधाममा करिब डेढ घण्टासम्म चलेको वार्तापछि दुवै पक्षबीच आन्दोलनका मागहरूलाई सम्बोधन गर्ने विषयमा सकारात्मक सहमति जुटेको हो ।
त्यसपछि हिन्दू सम्राट सेना नेपालले जारी आन्दोलन र विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाएको छ ।
हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार यसअघि सरकारलाई बुझाइएको १३ बुँदे मागमा थप ६ बुँदा समावेश गरी नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरिएको छ ।
उक्त प्रस्तावप्रति सरकार सकारात्मक रहेको र माग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा समिति गठन गर्ने मौखिक समझदारी भएको उनले बताए ।
यस्तै, हिन्दू सम्राट सेना नेपालका अध्यक्ष राजेश यादवले धर्मको आधारमा कुनै आयोग गठन नगर्ने, मदरसा तथा मस्जिदमा हुने भनिएको फन्डिङ, धार्मिक स्थलमा प्रयोग हुने लाउडस्पीकरलगायतका विषयमा पनि छलफल भई समझदारी बनेको दाबी गरे ।
उनका अनुसार सरकारी पक्षले आन्दोलनका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि बन्द, प्रदर्शन तथा विरोधका सबै कार्यक्रम तत्कालका लागि फिर्ता लिइएको हो ।
वार्तापछि दुवै पक्षले संवादमार्फत बाँकी विषयहरूलाई समेत समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

