जनकपुरधाम, १७ साउन । धनुषासँग जोडिएका नेपाल–भारत सीमा नाकाबाट नेपाल प्रवेश गर्ने सबै व्यक्तिका लागि अब परिचयपत्र अनिवार्य गरिएको छ ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार अब सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले आफ्नो पहिचान खुल्ने परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ ।

सुरक्षा निकायले परिचयपत्रका आधारमा अभिलेख राख्दै मात्र प्रवेशको अनुमति दिने व्यवस्था लागू गरिने जनाएको छ ।

यसैबीच, धनुषामा केही दिनदेखि लागू गरिएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाइने भएको छ ।

सरकार र आन्दोलनरत हिन्दुवादी संघसंस्थाबीच भएको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिने प्रतिबद्धता व्यक्त गरिएकाले जिल्लाको सुरक्षा अवस्थाको समीक्षा गर्दै निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रशासनले जनाएको छ ।

सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा आन्दोलन चर्किँदा धनुषासहित आसपासका जिल्लामा सुरक्षा सतर्कता बढाइएको थियो । त्यसक्रममा धनुषामा निषेधाज्ञा जारी गरिएको थियो ।

प्रशासनले निषेधाज्ञा हटाइए पनि शान्ति सुरक्षा कायम राख्न सुरक्षा निगरानीलाई निरन्तरता दिइने जनाएको छ ।

साथै, सीमा नाकामा परिचयपत्र अनिवार्य गर्ने निर्णयले आवतजावतलाई व्यवस्थित बनाउनुका साथै सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।